सिद्धार्थ प्रिमियर इन्स्योरेन्स फागुन १७ गतेदेखि एकीकृत कारोबार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालले आगामी फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । दुबै कम्पनीले गत फागुन १ गतेदेखि नै एकीकृत कारोबार गर्ने गरी प्रकृया अघि बढाएका थिए । तर यो बीचमा परेको विभिन्न सार्वजनिक बिदासँगै कम्पनी रजिष्ट्रारको काम समयमै हुन नसक्दा एकीकृत कारोबारको मिति लम्बिन पुगेको कम्पनी छ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । यता सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भइ नसकेको कम्पनीले जनाएको छ ।
यो विषयमा एकीकृत कारोबार हुनुभन्दा अघि बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने जनाइएको छ । दुई कम्पनीबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । मर्जरमा जानको लागि दुबै कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव समेत पारित गरिसकेको छ । उक्त सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश समेत पारित गरिसकेको छ । यससँगै प्रस्तावित ९ प्रतिशत बोनसपछि सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३९ करोड रुपैयाँ र १४.२५ प्रतिशत बोनसपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनीले गत असार २७ गतेनै एक आपसमा मर्ज हुन प्रारम्भिक सम्झौता गरेर मर्जरको प्रकृया अघि बढाएका थिए ।