इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प


काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै शहरमा भवनमा पनि क्षति पुगेको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।

उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ । भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले उद्धारकर्मीहरू उद्धार कार्यमा संलग्न रहेको र भग्नावशेषमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो बाहिर निकालिने बताएका छन्। घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *