आज विश्व पानी दिवस, नेपालमा पनि मनाईंदै
काठमाडौं । विश्व पानी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।
पञ्चतत्त्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ। पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैन भनिन्छ।
पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउनयोग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ। २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ। यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउनयोग्य छ।
नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै शहर, बजार र गाउँमा खानेपानीको समस्या छ। संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन।