आइजीआई प्रुडेन्सियलको बैशाख २७ गतेदेखि एकीकृत कारोबार


काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको कम्पनीले बताएको छ । ‘हाम्रो योजना अनुसार सबै सरकारी काम समयमै सकिएमा बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्छौं । बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अब कम्पनी रजिष्टार र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृत पाउनु पर्ने हुन्छ । मर्जरसम्बन्धी व्यवस्था अनुसार कम्पनीले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ । दुई कम्पनीबीच भएको सहमति अनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सका हुने छन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेशभक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओ हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । साथै, कम्पनीले कर्मचारी समायोजन पनि बराबरी हैसियतमा गर्ने भएका छन् ।

यससँगै मर्जरपछि बनेको आइजीआई प्रुडेन्सियल पुँजीसँगै प्रिमियम, नाफा लगायतका अधिकांश सूचकमा पहिलो निर्जीवन बीमा कम्पनी बन्ने स्रोतको दावी छ । ‘आगामी वर्षमा हामी औपचारिक रुपमा नम्बर वान कम्पनी हुने छौं । मर्जपछि कम्पनीको व्यवसाय, सेवा सुविधा थप विस्तार गरी सेयरधनीलाई उचित प्रतिफल वितरण गर्ने हाम्रो योजना छ । नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५ सय १७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने कम्पनीको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *