गोविन्द भट्टराईलाई भोट माग्न कांग्रेसका नेताहरू तनहुँ जानेक्रम तीव्र

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेसको सबैभन्दा धेरै पकड भएको तथा राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि तनहुँ १ कांग्रेसको मुख्य प्राथमिकतामा परेको हो । सोही कारण अहिले कांग्रेसका प्रभावशाली नेताहरू तनहुँ १ पुगेर उम्मेदवार गोविन्द भट्टराईसँग मत माग्नेक्रम तीव्र पारिएको छ ।

कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ १ मा चुनावी कमान्डर बनाएको छ । केही अघिसम्म कांग्रेसमै रहेका स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उम्मेदवार बनेपछि कांग्रेसले महामन्त्री थापालाई कमान्डर बनाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले अहिले थापाको परीक्षण लिइरहेका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै थापा भट्टराईलाई जिताउन विभिन्न रणनीतिमा लागेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ १ मै अड्डा जमाएर बसेका छन् । उनी तनहुँ २ मबाट विजयी भएका हुन् । पहिले भण्डारीले तनहुँ १ बाटै चुनाव जितेका थिए । यसपटक पौडेल १ बाट उठेपछि शंकर २ नम्बर क्षेत्रमा पुगेका हुन् ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तनहुँमा भट्टराईको पक्षमा माहोल बनाउन पुगेका छन् । उनले तनहुँ १ का विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । शर्मा तनहुँ कांग्रेसमा लोकप्रिय छन् । कांग्रेस नेता एवं सांसद प्रदीप पौडेल पनि तनहुँ १ मा पुगेका छन् । उनी मंगलबार नै तनहुँ पुगेर घरघरमा भट्टराईलाई भोट माग्न व्यस्त छन् । पौडेलको गृहजिल्ला भएकाले तनहुँमा उनको राम्रो प्रभाव छ ।

त्यस्तै, कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई अत्यधिक मतका साथ जिताउन आग्रह गरेका छन् । बुधबार बिहान तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले भट्टराई निष्ठावान र इमान्दार नेता भएकाले तनहुँले न्याय गर्नुपर्न बताए । उनले कांग्रेसले तनहुँलाई सरकार बनाउँदा होस् वा राज्यको प्रमुख तहमा स्थान दिएको स्मरण गराउँदै भने, ‘उहाँलाई अत्यधिक मतले विजयी गराउनुस् । मन्त्रीपरिषद् विस्तार हुँदा उहाँ मन्त्री नबन्नुहोला भन्ने के छ र ?’

कांग्रेस पूर्वमहामन्त्री सिंहले अहिले मैदानमा रहेका उमेदवारमध्ये भट्टराई उत्कृष्ट रहेकाले भ्रममा नपर्न पनि आग्रह गरे । भट्टराई नेविसंघको अध्यक्ष हुँदै लोकतन्त्रको सदृढीकरणका लागि लागेको नेता भएकाले तनहुँवासीले रूखमा मत दिएर उहाँलाई प्रोत्साहित गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रमलगत्तै नेता सिंह उम्मेदवार भट्टराईसँगै बन्दीपुर क्षेत्रमा घरदैलोमा पुग्दै भट्टराईको पक्षमा मत मागे । उनी सेड्युल बनाएरै चुनावी प्रचारमा लागेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *