बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु
पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ । मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार ९ बजेर १४ मिनेटमा फ्रेन्च गुयानाको ईएसए स्पेसपोर्टबाट प्रक्षेपण गरिएको थियो ।
जुपिटर आइसी मुन एक्सप्लोरर (जुस) परियोजनाले बृहस्पतिको चन्द्रमामा उपग्रह पठाउने लक्ष्य राखेको छ जसमा आठ वर्ष लाग्ने छ । अन्तरिक्ष यानले पृथ्वी र शुक्रको वरिपरि गुरुत्वाकर्षण स्लिङशट प्रविधिको प्रयोग गरी बृहस्पतिसम्म पुग्न पर्याप्त ऊर्जा दिनेछ । यो १.४ बिलियन डलरको परियोजनाले बृहस्पतिका प्रमुख चन्द्रमाहरू (ग्यानिमेड, कालिस्टो र युरोपा) मा सामान्य जीवन रहन सक्छ कि भनेर अध्ययन गर्नेछ ।