नयाँ वर्षदेखि मौलाकाली केबलकार सञ्चालनमा
गैँडाकोट । नवलपुरको गैँडाकोटमा नवबर्ष २०८० देखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।
केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए । उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३ सय ३०, विद्यार्थीहरुको लागि ४ सय १५ जेष्ठ रुपैयाँ नागरिकहरुको लागि ४ सय १५ रुपैयाँ र फरक क्षमता भएकाहरुको लागि २ सय ७५ रुपैयाँको टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निशुल्क सेवा दिने जनाएको छ ।