देशैभर तुवाँलो, रोकिएन आगलागी
काठमाडौँ । काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा परेको छ । एयर भिजुअल सूचक आइक्यु एयरले हावाको प्रदूषण मापन गर्दा संसारकै प्रदुषित सहरको सूचीमा काठमाडौँलाई एक नम्बरमा राखेको छ । पछिल्लो समय देशैभरीको वनहरुमा लागेको डढेलोसँगैको धुवाँको असर काठमाडौँसहित नेपालका विभिन्न सहरमा परेको छ ।
जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताउनुभयाे । पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा बहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको विज्ञहरूले बताउनुभएकाे छ । अनावश्यक बाहिर ननिस्कन तथा आम नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूले आग्रह गर्नुभएकाे छ।
केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।
प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ ।
वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए । उनले स्याटेलाइट तस्बिर हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिए । बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडाँैमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा बढेको हो ।
प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ । जलवायु तथा विपद्विज्ञ डा धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए । उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए ।
वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने भएकाले सावधानी अपनाउनसमेत वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए । प्रदूषित हावाका कारण देशैभर हवाई उडानसमेत प्रभावित बन्दै गएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरुको उडान आइतबार प्रभावित बनेको हो । काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भने सामान्य भइरहेका बताइएको छ । आइतबार गरिएको हावाको गुणस्तर मापक सूचक आइक्युएयर अनुसार काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वभरमा पहिलो सूचीमा थियोे ।
पर्सामा एक महिनादेखि आगलागी
विगत एक महिनादेखि पर्साको वन क्षेत्रमा लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । फाल्गुन महिनाको अन्तिम साता देखी पर्साको वन क्षेत्रमा लागेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आएको छैन । डिभिजन वन कार्यालय पर्सा र पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने राष्ट्रिय वन तथा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको पर्साबाट हाम्रा समाचारदाता प्रणय साहले बताउनुभएकाे हाे । आगो नियन्त्रणमा सम्बन्धित निकायले सक्रिय पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
डढेलो सुरु भएको सातामा पर्सा निकुञ्जको आधाभार पथलैया सडक खण्ड, सहजनाथ महादेव मन्दिर क्षेत्रमा गरी करिब १ सय ५० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । पर्सा निकुञ्जको तत्कालै पहलबाट डढेलो नियन्त्रण गरिएको थियो ।’
अहिले जिल्लाको सेक्टर वन कार्यालय वसन्तपुर, इलाका वन कार्यालय हरैया, इलाका वन कार्यालय भतौडा, इलाका वन कार्यालय रङ्गपुर र सेक्टर वन कार्यालय बढ्निहार र पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोस्ट गडुवा लाइन पोष्ट र निर्मलबस्ती पोष्ट र पञ्चमुखी सामुदायिक वन र सुनाखरी उपभोक्ता समिति अन्तर्गत रहेको वन क्षेत्रमा विगत १ महिना देखि डढेलो लागेको छ ।
डढेलोकै कारण करोडौं मूल्य बराबरका काठहरू तथा बोटबिरुवा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीबाट निस्केको धुवाँले विशेष गरि जङ्गलसँग सिमाना जोडिएका ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिकाका गाउँका स्थानहरूमा आँखा चिलाउने, आँखा रातो हुने बिहानको समयमा धुवाँले अँध्यारो हुने जस्ता समस्या देखिएको स्थानीयवासीहरूले गुनासो गरेका छन् ।
डिभिजन वन कार्यालय पर्साका प्रवक्ता सहायक वन अधिकृत फरमान मियाँले भने डढेलो नियन्त्रणका लागि आफूलाई जानकारी आएको स्थानमा तुरुन्तै पुगी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वन रक्षकको टोली परिचालन गरिएको र बाँकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको बताउनुभयो । आगो नियन्त्रणमा एक्लो वन कर्मचारी र प्रहरीले मात्रै नभई स्थानीयको पनि सहयोग चाहिएको बताउनुभयो ।
यस वर्ष हिउँदे वर्षा कम भएकाले सुक्खायामको सुरुवातसँगै डढेलो लाग्न सुरु भएको उहाँले बताउनुभयो । हालसम्म वन तथा निकुञ्जमा बढी डढेलो लागेको क्षेत्रमा मानवीय गतिविधि तथा चहलपहल बढिरहेको पाइएको उहाँले जनकारी दिनुभयो ।
जुनजुन क्षेत्रमा डढेलो लागेको छ ती क्षेत्रमा मानवीय गतिविधि बढी छ । त्रिभुवन राजपथ भएर सवारी साधन तथा बटुवाहरूसमेत आवागमन गर्ने गरेका छन् । वन तथा निकुञ्ज क्षेत्रमा गोठालाहरू पनि सक्रिय हुन्छन् । चुरोट खाएर आगोसहितको ठुटो फाल्ने, दाउराको लोभमा जङ्गलमा डढेलो लगाउने प्रवृत्ति अझै छ ।’
यसैबीच सुनाखरि उपभोक्ता समिति र पन्चरुखी सामुदायिक वनमा लागेको डढेलो स्थानीय उपभोक्ताहरु विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा आगो निभाइएको र डढेलो लाग्न नदिनको लागि नियमित उपभोक्ताहरुको सहयोगमा गस्ती भैरहेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनले जानकारी दिनुभयो ।