बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारी र नवनियुक्त गभर्नर डा.पौडेलसँग भेटघाट
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे। नवनियुक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
















