रविको पार्टीमा लफडाः किन पुगे संसद् सचिवालयमा सन्तोष र ढाकाकुमार ?
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड घुस बार्गेनिङ गरेको आरोपमा सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठ आफ्नो पद जोगाइदिन हारगुहार गरिरहेका छन् । उनी सोमबार संसद् सचिवालय पुगेका थिए । श्रेष्ठले आफ्नो बचाउमा कुरा राखेको बुझिएको छ । उनले आफूलाई यथेष्ट कुरा राख्न नपाई कारबाही गरेको भन्दै हारगुहार गरेको बताइन्छ ।
हिजै संसदमा रवि लामिछाने नेतृत्वको रास्वपाका सचेतक सन्तोष परियार पनि संसद् सचिवालय पुगेका थिए । उनी ढाकाकुमारको पदमुक्तिसम्बन्धी पछिल्लो अपडेट बुझ्न गएको बताइन्छ । संसद सचिवालयले श्रेष्ठको पदमुक्तिसम्बन्धी रास्वपाको सिफारिसमाथि अध्ययन गरिरहेको छ । पार्टीले सबै प्रक्रिया पूरा गरेको भए निर्णय सदर गर्ने सचिवालयले जनाएको छ ।
अहिले रास्वपाले स्पष्टीकरण सोधेको, श्रेष्ठले जवाफ दिएको वा नदिएको र सुनुवाइको मौका दिएको छ वा छैन भन्ने सचिवालयले अध्ययन गरिरहेको छ । राजनीतिक दलका सांसदलाई उसको संसदीय दलले हटाउनुपर्ने संसद् सचिवालयका अधिकारीहरुको बुझाइ रहेकाले श्रेष्ठको पद गुम्ने निश्चित रहेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनले संसदीय दल र त्यसको निर्णयलाई त्यत्ति महत्व नदिने भएकाले पार्टी कमिटीको निर्णयलाई अन्तिम मान्ने कानुनी प्रचलन छ । त्यसैले सांसदको निलम्बन वा हटाउने निर्णयमा मूलतः राजनीतिक दलको केन्द्रीय समिति वा केन्द्रीय कार्यकारिणी समितिलाई आधार बनाइन्छ । रास्वपाको कार्यकारिणी बैठकले श्रेष्ठलाई हटाएर उनको ठाउँमा विन्दावासिनी कंसाकारलाई सांसद सिफारिस गरेको छ ।