एसिया कप खेल्ने सपना देखेको नेपालको कमजोर ब्याटिङ, ४० ओभरमै अलआउट
काठमाडौं । भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सपना देखेको नेपाल कतारसँग ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले समूह चरणको अन्तिम खेलमा कतारसँग कमजोर ब्याटिङ गरेको हो।
एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गतको खेलमा दोस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल दुई रनमा आउट भएसँगै नेपालको विकेट पतन सुरू भएको हो । भीम सार्की ६, आसिफ शेख १९, कप्तान रोहितकुमार पौडेल २७, कुशल मल्ल तीन, सोमपाल कामी ११ रन, आरिफ शेख ११ रन, दीपेन्द्रसिंह ऐरी १२, गुल्शन झा सात र ललितनारायण राजवंशी एक रनमा आउट भए । कतारविरुद्ध सन्दीप लामिछाने ४२ रनमा नटआउट रहे ।
बलिङमा कतारका अमिर फारुकले तीन तथा मुनवीरा र ओवाइस अहमेदले दुई–दुई विकेट लिए ।
यसअघिका खेलमा जमेका कुशल मल्ल र भीम सार्की आज त्यति जम्न सकेनन् । एसिसी प्रिमियर लिगमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । नेपालले अनुभवी ब्याट्समेन ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको थियो ।
नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। यससँगै नेपाल पाँच अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । यो समूहबाट ओमान ६ अंकसहित सेमिफाइनल पुगिसकेको छ।