राष्ट्रपति उतै बस्दा प्रचण्डको भारत भ्रमण अनिश्चित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेको दुई महिना बितिसक्यो । तर अहिलेसम्म भारतबाट औपचारिक निम्तो आएको छैन । एमाले सरकारबाट बाहिरिएलगत्तै प्रचण्डले भारत भ्रमणमा जाने अभिव्यक्ति दिएका थिए । फागुनदेखि नै उनले पहिलो विदेश भ्रमण भारतबाटै हुने बताउँदै आएका छन् । तर वैशाख आधा भइसक्दा पनि उनको भ्रमणको टुंगो लागिसकेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो नपठाएकाले प्रचण्ड अहिले चुपचाप छन् । त्यति सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । भारत भ्रमणको तयारीका लागि भन्दै उनले नेपाली कांग्रेसका नेता एनपी साउदलाई उपनिर्वाचनअघि नै परराष्ट्रमन्त्री नियुक्त गरेका थिए । मन्त्रीको शपथ लिएलगत्तै साउदले आफू अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीमा जुटेको बताएका थिए । तर वैशाखमा प्रधानमन्त्रीको भारत भ्रमण हुने नहुने कुनै टुंगो छैन । यसअघि वैशाख १५ देखि १७ गतेसम्म प्रचण्ड भारत जाने तयारी थियो ।
प्रचण्डको भारत भ्रमण रोकिनुको पहिलो कारण भारतीय समकक्षी मोदीको कार्यव्यस्तता हो । भारतका विभिन्न प्रान्तमा विधान सभाको निर्वाचन हुँदैछ । भारतीय जनता पार्टीले नरेन्द्र मोदीको आमसभाको सूची नै जारी गरेको छ । मोदीले १५ दिन ४० भन्दा बढी ठाउँमा भाषण गर्ने भएका छन् । सोही कारण उनको धेरै समय दिल्लीभन्दा बाहिरै बित्ने भएकाले पनि भारतबाट प्रचण्डलाई भ्रमणको औपचारिक निम्तो नआएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । मोदीकै कार्यव्यस्तताका कारण भारतमा अहिले विदेशी पाहुना आएका छैनन् ।
अचानक राष्ट्रपति रामचन्द्र पौडेल विरामी पर्नाले पनि प्रधानमन्त्री प्रचण्डको विदेश यात्रा रोकिएको छ । पेटको उपचारका लागि दुई सातादेखि पौडेल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेका छन् । उनको उपचार प्रक्रिया लामो हुने देखिएको छ । बाहिर समाचारमा पौडेलको स्वास्थ्य अवस्था सामान्य भनिए पनि रिपोर्ट आउन ढिलाइ हुनुले गम्भीर रोग भएको अनुमान गर्न थालिएको छ ।
जुन देशमा आफू जान लागेको हो त्यही देशमा राष्ट्रपतिको उपचार भइरहेकाले पनि प्रचण्डलाई अर्को समस्या थपिएको हो । अब भारतमा विधान सभाको निर्वाचन नसकिएसम्म र राष्ट्रपति पौडेल उपचार सकेर नेपाल नफर्किएसम्म प्रचण्डको भारत भ्रमण अनिश्चित बनेको माओवादी नेताहरूको भनाइ छ । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपछि प्रचण्डमा अर्को संकट थपिने भएको छ ।