नेपाल बिजनेस समीट २०२३ आयोजना हुँने


काठमाण्डौं । सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समीट २०२३ आयोजना हुने भएको छ। सरकार र निजी क्षेत्रबीचको दुरी कम गदै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउन शिखर सम्मेलन आयोजना गरिने भएको हो। संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आयोजित सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको प्रमुख आतिथ्यता र विशेष सम्बोधन रहनेछ। राजधानीमा भर्खरै आयोजित शिखर सम्मेलनबारे जानकारी दिने उद्देश्यले बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरू समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारे भ्रम निवारणका लागि बिजनेस समीट आयोजना गर्न लागिएको बताए। पछिल्लो वित्तीय चुनौतीले उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीचको दुरी बढ्दै जाने सम्भावना रहेको बताउँदै गोल्यानले कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको जानकारी गराए। यस कार्यक्रम देश भरिका लगभग ४ सय जनाको सहभागी हुने अपेक्षा गरिएको छ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्यमशीलता र व्यवसायिक प्रवर्द्धनका लागि बिजनेस समीट आयोजना गरेको बताए। सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजी क्षेत्रबीचको यो शिखर सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र आगामी दिनमा यसले जारी गर्ने घोषणा पत्र सरकारको नीति, कार्यक्रममा समेटिने विश्वास ब्यक्त गरे। सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका सदस्य विनोदकुमार चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोसलगायत विभिन्न देशका राजदूत, अर्थशास्त्री, उद्यमी–व्यवसायीहरू, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूले सो कार्यक्रममा सम्बोधन हुनेछ।

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरू उद्यमरव्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरूको स्तरोन्नतिसहित नवप्रवर्तन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीनतहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ हुने अपेक्षा समेत राखिएको छ। शिखर सम्मेलनमा देशभरका उद्यमी व्यवसायी र बैंक तथा बित्तिय संस्थाका प्रतिनिधि गरी धेरै ठूलो संख्यामा सहभागीता रहने र सम्मेलनको तयारी सम्पन्न भएको समेत सिविफिनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *