१५ वर्षमै अर्बपति बनेका अमरेशले कहाँबाट जोडे सम्पत्ति ?
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सोमबार अमर्यादित तवरले प्रस्तुत भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह अहिले अरुलाई भ्रष्टाचारी भनेर आरोप लगाइरहेका छन् । सर्लाही ४ बाट सांसद जितेका सिंह अहिले सबैभन्दा बढी नेपाली कांग्रेस र यसका नेताविरुद्ध आक्रोशित भएर लागेका छन् । उनले कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य आरजु देउवालाई निसाना बनाएका छन् । सोही कारण उनी संसदमा आफ्नो अधिकांश समय नेताहरूको विरोधमा खर्च गर्ने गर्छन् ।
सर्लाही ४ बाट लगातार तीनपटक सांसद जितेका सिंह भने विगतमा सामान्य हैसियतमा मानिस हुन् । यसबीचमा उनी अर्बपति बनिसकेका छन् । अरुलाई भ्रष्टाचार गरेर अकूत सम्पत्ति जोड्ने भ्रष्टाचारी भनेर आरोप लगाउने सिंह आफैं भने भारतीय दूतावासबाट प्राप्त आर्थिक सहायताको रकम कमिसन खाएरै अर्बपति बनेको देखिन्छ । सुरुमा महन्थ ठाकुरको पिए बनेर राजनीतिमा छिरेका सिंह एकाएक कसरी अर्बपति बने त भन्ने अहिले चर्चाको विषय बनेको छ ।
२०६३ सालमा सिंहले राजनीति सुरु गरेका हुन् । नेपालमा ०६२–०६३ सालको आन्दोलन हुँदा उनी दिल्लीमा होम ट्युसन पढाउँदै र पढ्दै गर्थे । त्यही बेला उनले केही भारतीय नेता र नेपालका माओवादी नेतासँग सम्पर्क बढाए । सिंहका बंगालीमूलका एकजना साढुभाइ भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका मान्छे थिए । उनैलाई प्रयोग गरेर अमरेशले माओवादी नेता र भारतीय कम्यूनिष्ट पार्टीका नेताबीच चिनजान गराइदिए ।
दिल्लीमा तत्कालीन सात संसदवादी दल र माओवादीबीच १२ बुँदे सम्झौता भयो । सिंहले यो सम्झौता आफूले गराइदिएको भनेर हल्ला गर्न थाले । एकजना पत्रकारलाई प्रयोग गरेर उनी प्रचण्ड र गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र बनेका थिए ।
२०६३ सालको परिवर्तनपछि उनी नेपाल आए । महन्थ ठाकुरको पिए बने । महन्थकै कारण उनलाई कोइरालाले विश्वास गर्न थाले । अर्का एक पत्रकारकै कारण भारतीय दूतावास छिर्न सफल सिंह अहिलेसम्म उतैका मानिस बनिसकेका छन् । कतिसम्म भने उनी कांग्रेस, माओवादी, एमालेसहितको सर्वदलीय बैठकमा सरासर जान्थे । जब उनको असलियतबारे थाहा भो तब नेताहरूले उनलाई बालुवाटार प्रवेशमै रोक लगाए ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका अधिकांश मधेसी नेताहरुले पार्टी छाडे । यही बीचमा उनले कांग्रेसभित्र स्थान बनाए । २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही ४ बाट प्रत्यक्षतर्फको टिकट पाए । चुनाव जिते । २०६४ सालअघिसम्म उनी काठमाडौं बुद्धनगरको एउटा छिँडीको कोठामा बस्थे । कुनै स्कुलमा पढाउँथे । संसद् भइसकेपछि भने उनको धन्दा धेरै नै फष्टायो ।
सिंहको भारत, अष्ट्रेलिया, पोर्चुगललगायत देशमा घर जग्गा तथा व्यवसाय भएको सर्लाही कांग्रेसका नेता कार्यकर्ता बताउँछन् । भारतीय दूतावासले स्थानीय तहमै सिधै दुई करोड रुपैयाँसम्मका परियोजनामा प्रत्यक्ष आर्थिक सहयोग गर्दा सिंहले ७० वटा आयोजना लगेको र त्यहीँबाट करोडौं कमाएको बताइन्छ ।
अकुत सम्पत्ति आर्जनमा उनीमाथि छानविन हुने सम्भावना बढेको छ । राजधानी काठमाडौंमा उनले चारवटा स्कुल तथा कलेजमा लगानी गरेको बुझिएको छ । राज्य सञ्चालकलाई भारतको डर देखाएर प्रहरी र कर्मचारी सरुवा बढुवाबाट उनले अकुत सम्पत्ति आर्जन गर्दै आएको रहस्य खुलेको छ ।