शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमति भएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक उक्त प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको हो । तीन दलको बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून् । प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

साथै उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको दाबी समेत गरे । उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’

उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताए । ‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ प्रहरीलाई ’, प्रधानमन्त्रीले भने, ‘प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा आशङ्का गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि विधान अनुसार, नियमपद्दतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवासँगको छलफलपछि सिंहदरवारबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले संसद संचालन, संयुक्त र विषयगत संसदीय समिति गठन लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रतिक्रिया दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *