प्रतिनिधिसभामा टोपबहादुर पक्राउको सूचना, सांसद पद स्वत: निलम्बनमा
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा पढेर सुनाएका छन् ।
सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराएका हुन् ।
रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो । रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा नियमावलीको नियम २४८ (१)बमोजिम संसदलाई जानकारी गराएको सभामुख घिमिरेले बताए ।
रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा रायमाझीलाइै प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
कुनै सांसद पक्राउ परेमा प्रहरीले संसद् सचिवालयलाई जानकारी गराउँछ। सांसद पक्राउ परेको जानकारी सभामुखले प्रतिनिधि सभाको बैठकमा सुनाएपछि वा सूचना टाँस गरेपछि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ। पूर्वमन्त्रीसमेत रहेका रायमाझी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए।
https://www.himalkhabar.com/news/135817