संसदमा उठ्यो नक्कली शरणार्थी प्रकरणको विषय, शीर्ष नेताको भेटप्रति आपत्ति

काठमाडौं । संसदमा नक्कली शरणार्थी प्रकरणबारे सांसदहरूले प्रश्न उठाएका छन् । सोमबारको बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरूले यो प्रकरणबारे आ–आफ्नो धारणा राखेका छन् ।

माओवादी सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरे । ‘मानव तस्करसहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ,’ आकस्मिक समय लिएर उनले भने, यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

प्रतिनिधिसभा बैठकमा प्रमुख तीन दलका शीर्ष नेताको निरन्तरको भेटवार्तालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् । देशमा कुनै दैवी वा प्राकृतिक विपत्ति वा अन्य ठूला घटना भएको जस्तो गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेट भइरहेकोमा सांसदहज्ञले आपत्ति जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, जसपा सांसद राजकिशोर यादवले प्रचण्ड, देउवा र ओलीको भेटवार्ताले आमजनमानसमा शंका उत्पन्न गराएको बताए । उनीहरूले देशमा हाल चर्चामा रहेको नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न शीर्ष नेताहरूबीच दिनहुँ भेटवार्ता हुने गरेको उनीहरूको भनाइ छ । जनतामा आशंका उब्जने खालका गतिविधि नगर्न उनीहरूले चेतावनी पनि दिए ।

प्रधानमन्त्री प्रचण्डको आह्वानमा केही दिनदेखि देउवा र ओलीसहितको बैठक बसिरहेको छ । तीनै शीर्ष नेताले भेटवार्तामा संसद् चलाउन र संसदीय समिति गठनका लागि छलफल हुने गरेको बताउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *