सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस् : इन्सेक
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया निश्पक्ष गर्न सकारलाई ध्यानाकर्षण गराएको छ । इन्सेकले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो सरकारलाई ध्यानाकर्षण गराएको हो ।
नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने सर्वव्यापक आशङ्का भइरहेकाले त्यस्तो नगर्न र नगराउन सकेत सरकारसमक्ष माग गरेको छ । यस मामिलामा गहन र निष्पक्ष छानविन गरी संसारको नजरमा नेपाल राष्ट्रको प्रतिष्ठा पूर्णतः धराशायी हुन नदिने अवसर गुमाउनु नहुने इन्सेकले जनाएको छ ।
सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरूकै भ्रष्टाचार र अनियमिता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठिरहेको आजको अन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौम सत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
इन्सेकले विज्ञप्ती जारी गर्दै विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानविन भई सम्पूर्ण आरोपितहरूमाथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमासमेत आउनसक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापनाको अगुवाइ गर्ने दलहरूले नै लिनुपर्ने प्रष्ट पारेको छ ।
इन्सेकले नेपाल प्रहरी तथा राज्यका अन्य अङ्गबाट हालसम्म भएको अनुसन्धान कार्यको प्रशंसा गरेको छ । सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा हुन नदिन सबै दलका नेतृत्व सजग हुनुपर्नेमा इन्सेकले सरकारसँग माग गरेको छ ।
