संसदमा सांसद किन आउन छाडे ?
काठमाडौं । अहिले प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । नीति तथा कार्यक्रममाथि छलफल हुनुअघि सभामुखले विशेष र शून्य समय दिएर सांसदहरूलाई समसामयिक विषय र घटनाबारे आफ्ना विचार राख्न दिने गरेका छन् । तर सांसदहरूको उपस्थिति भने न्यून छ ।
नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा प्रतिनिधिसभा बैठक खालीखाली देखिएको छ । विशेष र शून्य समयमा आफ्नो विचार राखिसकेपछि सांसदहरूले निस्केर हिँड्ने गरेका छन् । अधिकांश सांसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि कुनै चासो नै देखिएको छ ।
नीति तथा कार्यक्रम सरकारको वार्षिक योजनासमेत भएकाले यसैको आधारमा वार्षिक बजेट निर्माण हुने गर्छ । सत्तारुढ मात्रै होइन, विपक्षी दलका सांसदसमेत हलमा देखिन छाडेका छन् । आइतबार पूर्वप्रधानमन्त्री केपी ओलीले संसद्मा दुई घन्टासम्म बोलेका थिए ।
आज सरकारको नीति तथा कार्यक्रममाथि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छलफलमा भाग लिएका थिए । उनले बोल्ने बेलामा संसद् हल आधाभन्दा धेरै खाली देखिएको थियो ।