शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछियो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थानीयतहका जनप्रतिनिधिलाई सरकारमा रहँदा आफ्नो जिम्मेवारीको समय खेर नफाल्न निर्देशन दिएका छन् । उनले समयको उपयोगिता र महत्वलाई बुझ्न आग्रह गरेका हुन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षित गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तपाइँहरू जिम्मेवारीमा हुनुहुन्छ । तपाइँहरू जवाफदेही र उत्तरदायी हुनुपर्छ । त्यसैले तपाईंहरूले समय खेर नफाल्नुहोला । ’
अध्यक्ष ओलीले जनप्रतिनिधिको एक वर्ष बितिसकेको भन्दै अब साढे तीन वर्ष बित्न धेरै समय नलाग्ने बताए । उनले भने, ‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ । त्यसैले बेलैदेखि हामीले उपलब्धिहरू, कामहरू देखिने गरी जनताको अघिल्तिर प्रस्तुत भएर जानुपर्छ ।’
उद्देश्यमा स्पष्ट योजना बनाएर बजेट निर्माण र योजनाअनुरुप काम गर्न पनि उनले जनप्रतिनिधिहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले भने, ‘जनप्रतिनिधिले कार्यसम्पादन कसरी गर्ने, हाम्रो बोली चाली व्यवहार कस्तो हुनुपर्छ भन्ने कुराले हामीप्रति जनताले हेर्ने दृष्टिकोण बन्छ । हामीसँग जोडिन आएका नयाँ मान्छेहरूसँग अनैतिक तरिकाले प्रस्तुत हुन मिल्दैन । त्यही बेलाको बोली र व्यवहारबाट हामीलाई नागरिकले हेर्ने दृष्टिकोण तय हुन्छ । ख्याल गर्नुहोला ।’
शरणार्थी प्रकरणमा एमालेलाई जबरजस्त मुछियो
साथै, अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्धामा केही व्यक्ति सामेल रहेछन् । अदालतमा केस भएकाले को संलग्न छ, म धेरै भन्न चाहन्नँ । तर, त्यसको सबैबाढी अहिले एमालेतर्फ फर्काउन खोजियो । मिडिया, सामाजिक सञ्जालमा नआएपनि यो आयो भनेर एमालेका विरुद्ध हावाहुरी चलाएको छ । एमाले यसमा कहिँ कतै संलग्न छैन ।’
उनले भ्रष्टाचार कहिले कसरी भएको विस्तारै खुल्दै जानेसमेत बताए । ‘मेरो नजिक भएका भनिएका मान्छेहरुको नाम कसरी पोल्न लगाउने, कसरी मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? पुलिसकहाँ कसैले बयानको क्रममा नाम उच्चारण गर्यो भने अखबारमा सँगसँगै कसरी पुग्छ’ ओलीले भने, ‘कहिलेकहिले अघिल्लो दिन अखबारमा आउँछ भोलिपल्ट बयानमा आउँछ । कस्तो तयारीका साथ ? मान्छेले सहि गर्न नमान्दा बयान रोकेर मान्छेलाई सही गराइएको छ ।’