रेशम चौधरीलाई हतारहतार माफी दिने सरकारको निर्णयप्रति गगन थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई हतारहतार माफी दिने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको उनको आरोप छ । सरकार चलाउन गाह्रो भयो भनेर कानुन मिच्न नहुने बताउँदै उनले यस्तो सरकार रहिरहनुको कुनै अर्थ नभएको टिप्पणी पनि गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कांग्रेस कार्यकर्ता भेलामा उनले आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताए।महामन्त्री थापाले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने उल्लेख गरे । ‘यो राजाको शासन नभएकाले कसैको हुकुम चल्दैन । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न हुन्न,’ थापाले भने ।

महामन्त्री थापाले रेशम चौधरीबारे अदालतको पूर्णपाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको तर्क गरे। ‘आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर बलमिच्याइँ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौँ । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतारहतार निर्णय गर्छौँ भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ ।

हामीले बलमिच्याइँ गर्‍यौँ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको वेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर, नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ। केही फरक पर्दैन,’ थापाले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *