खाँटी राष्ट्रिय तस्कर

अनर्थ अर्थ लाएर हामी तस्करको बल
घटाउने कुरा गर्दा पछारिन्छन् तिनै तल ।१ ।

सदैव योजनावद्ध काम गर्छौ गराउँछौँ
खोजीखोजी नयाँ जुक्ति राम्रै दाम फलाउँछौँ ।२ ।

अमूल्य वस्तुको खेलो गर्दै भण्डार भर्दछौँ
सधैं कानुनका सामु सच्चा साधु ठहर्दछौँ ।३ ।

शिक्षाको जगमा हाम्रा गर्दछन हात सल्बल
शिक्षा ठेक्का लिने दाबी गर्छ तस्करको दल ४

स्वास्थ तर्फ अझै राम्रो गर्न सकिन्छ आर्जन
नक्कली भन्न मिल्दैन हाम्रै छन् कति सर्जन ५

हामीविना कुनै क्षेत्र चल्ने कुरा असम्भव
कुम्लो बोकी कतै जान पाउँदा लाग्छ गौरव ६

लुतो जस्तै कुनाकाप्चा सक्छौँ अवश्य फैलिन
कालो काम गरी हामी सक्छौँ सेताम्य देखिन ।७

यौटा फ्रुटी पिलाएर मृगौला लिन भ्याउँछौँ
सोही अङ्ग बिकाएर सत्रलाख कमाउँछौँ ।८ ।

सरकार परे सक्छौँ गाँस्न तथा चुडाउन
जा विदेश युवा भन्छौँ घडेरी हात लाउन ।९ ।

हामी अस्थिरता भेटे मान्छौँ साह्रै रमाइलो
शान्ति हाम्रो भयो बैरी मास्नु पर्छ जरोकिलो । १० ।

चाँदीको सुनको बोरा आफैं भन्सार तर्दछ
कसरी भूमिका हाम्रो कमजोर ठहर्दछ ।११ ।

छाडा साँढे चरे जस्तै चर्न पाउँ सधैभरी
छानीछानी मनोमानी गर्न पाउँ सधैंभरी । १२ ।

यस्तो मौका जता मिल्छ उतै लागिन्छ लस्कर
हामी सानातिना छैनौँ खाँटी राष्ट्रिय तस्कर १३

डिल्लीप्रसाद मूलतिहुन
मोलुङ ५ ओखल्ढुङ्गा
फोन ९८६०४७२५१०
हाल चाँगुनारायण न. पा ३ भक्तपुर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *