एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी
काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ।
घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले विनाविकेटको क्षतिमा ११५ रन बनाएसँगै नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी गरेको हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले २६ ओभर चलिरहदा कीर्तिमान बनाएका हुन्।
यसअघि नेपालको पहिलो विकेटको लागि ११४ रनको साझेदारी गरेको थियो। यो साझेदारी पनि कुशल र आसिफले नै ओमानविरुद्ध सन् २०२२ मा गरेका थिए।
खेलमा कुशल ८७ रन र आसिफ ४३ रन बनाएर खेलिरहेका छन्। नेपालले २७ ओभर सकिदा विकेट नगुमाइ १३७ रन जोडेको छ।
कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्।
यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए। यो समाचार बनाउदाँ सम्म नेपालले १५४ रन बनाईसकेको छ ।