देउवा सिंगापुरमै रहेका बेला हतारहतार समाजवादी मोर्चाको घोषणा, कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका क्रममा हाल सिंगापुरमा छन् । उनी पेटसम्बन्धी समस्या र आँखाको उपचार गर्न गत मंगलबार सिंगापुर गएका हुन् । धुम्बाराही स्रोतका अनुसार आज (सोमबार) राति देउवा सिंगापुरबाट स्वदेश फर्कंदैछन् ।

देउवा सिंगापुर गएको मौका छोपी हतारहतारमा आठदलीय गठबन्धन तोडेर समाजवादी मोर्चा गठनको घोषणा गर्न लागिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै विशेष सक्रियतामा देउवा देश बाहिर गएको मौका छोपेर मोर्चा गठन गर्नुलाई सामान्य मानिएको छैन ।

प्रमुख दलका सभापति एवं साढे दुई वर्षपछि प्रधानमन्त्रीको रोलक्रममा रहेका देउवालाई जानकारी नै नदिई मोर्चा गठन भएकोमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस नेताहरू कसैले पनि प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवको यो कार्यशैलीलाई मन पराएका छैनन् । प्रचण्डले कांग्रेसलाई दुई वर्ष सरकारको नेतृत्व नदिन र सरकारमा कम्युनिस्टहरूकै वर्चस्व कायम गर्न मोर्चा गठन गरेको बताइन्छ ।

कांग्रेसभित्रै अर्को निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्नुपर्ने व्यापक आवाज उठिरहेको छ । यो सरकार बनेको भर्खर ६ महिना मात्र भएको छ । अझै साढे चार वर्ष सरकार चलाउन बाँकी नै छ ।

तर अहिले नै आठदलीय गठबन्धनलाई माइनस गरी प्रचण्डले अर्को मोर्चा गठन गरेपछि कांग्रेस ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ । कांग्रेस सभापति देउवा स्वदेश फर्किएलगत्तै पार्टीको बैठक बसेर आवश्यक निर्णय तयारी गरेको छ । आठदलीय गठबन्धन हुँदाहुँदै मोर्चा किन भन्ने प्रश्न कांग्रेसले उठाएको छ ।

समाजवादी मोर्चामा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित हुनेछन् । मोर्चाको हाइकमाण्डमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा चारवटै दलका प्रमुख रहने बताइएको छ । आवश्यकताअनुसार प्रचण्ड, माधव, उपेन्द्र र विप्लवले मोर्चाको अध्यक्षता गर्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *