देशका विभिन्न स्थानमा चट्याङ लागेर ६ जनाको मृत्यु

काठमाडौँ । वर्षासँगै परेको चट्याङ लागेका कारण शनिबार देशका विभिन्न स्थानमा ६ जनाले ज्यान गुमाएका छन् ।

दाङको दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समीर केसी र सोही गाउँपालिका ३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको थियो । आआफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै यता कास्कीको पोखरा महानगरपालिका–२३ हर्पन बस्ने ४९ वर्षीय देवबहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।

उता गुल्मीको मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया विष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *