पुसमा सबैको समर्थन पाएका प्रचण्ड निरन्तर एक्लिँदै

काठमाडौं । मंसिरको निर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भए । सुरुमा एमाले, रास्वपा, राप्रपासहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिँदा २६८ सांसदको समर्थन पाए । त्यसबेला कांग्रेसले समेत उनलाई विश्वासको मत दियो ।

तर राष्ट्रपतिको निर्वाचनअघि समीकरण फेरियो । कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जसपाको गठबन्धन बन्यो । लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी पनि प्रचण्डकै पक्षमा आए । प्रधानमन्त्री भएको ६ महिनामै प्रचण्डले सबैको विश्वास गुमाउँदै गएका छन् । कतिसम्म बजेट पास गर्ने बेला उनी १० भोटले जोगिए । नत्र प्रधानमन्त्री प्रचण्डको पद डिलमै पुगेको थियो । यदि जसपाको बैठकमै गएर प्रचण्डले आश्वासन नदिएको भए उनको सरकार १३ गते नै ढल्थ्यो ।

प्रधानमन्त्री प्रचण्डले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बुधबार प्रतिनिधिसभामा आफ्नो ६ महिने कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गरे । देशमा सुशासन कायम हुन थालेको, भारत भ्रमणका क्रममा ऊर्जासम्बन्धी सहमति भएको र सरकारी सेवा प्रवाहमा सुधार आएकोसम्मका दाबी गरे ।

देशको सुशासनका लागि धेरै काम गरेको र सार्वजनिक सेवामा समेत सरकारले सुधार गरेको र डिस्टिङ्सन ल्याएको बताए । तर आगामी आर्थिक वर्षको बजेट पारित गराउन भने निकै दौडधूप गर्नुपर्‍यो । उनले बल्लतल्ल बजेट त पास गराए, तर संसदमा उनको लोकप्रियता भने घट्दै गएको देखिएको छ ।

बजेटको पक्षमा एक सय ४७ मत पर्नुले उनको पक्षको मत निरन्तर ओरालो लागेको पुष्टि भएको छ । बजेट पारित गराउन प्रतिनिधिसभामा गरिएको मत विभाजनको परिणामले भने प्रधानमन्त्रीले संसदमा दलहरुको विश्वास गुमाउँदै गएको प्रष्ट देखिन्छ । पहिलोपटक पुस २६ गते विश्वासको मत लिँदा दाहालको पक्षमा २६८ मत परेको थियो । दोस्रोपटक चैत ६ गते विश्वासको मत लिँदा जम्मा १७२ सांसदको समर्थन देखियो । अझ बजेटसम्म आइपुग्दा बहुमतभन्दा जम्मा १० मत मात्रै बढी छ । सरकार सम्हालेको ६ महिनामै उनीमाथि मतको दबाब पर्दै गएको छ ।

उनलाई साथ दिँदै आएको जसपा, लोसपा, जनमत पार्टी समेत खुसी नहुनुले साढे दुई वर्षसम्म प्रचण्डको नेतृत्व सरकार टिक्छ भनेर कसैले पनि अनुमान गरेका छैनन् । एमाले पहिलेदेखि नै सरकार ढाल्न लागिपरेको छ । उसलाई रास्वपा, राप्रपाले पनि साथ दिएका छन् । कथंकदाचित एकीकृत समाजवादी एमालेसँग नजिकिएमा प्रचण्डको भविष्य पनि दाउमा लाग्ने निश्चित छ । उनको प्रधानमन्त्रीमा बसाई यो नै अन्तिमपटक हुन सक्ने धेरैको विश्लेषण छ ।

प्रचण्डले दलमात्र हाेइन नेताहरु पनि निरन्तर गुमाउँदै गएका छन् । अहिले उनीसँग उपेन्द्र यादवदेखि माधवकुमार नेपालसम्म खुसी छैनन् । समाजवादी माेर्चा बनाए पनि त्यसकाे बैठक अहिलेसम्म बस्न नसक्नुले प्रचण्डकाे लाेकप्रियता घट्दै गएकाे पुष्टि हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *