ललितपुरका न्यायाधीश र कर्मचारीले गरे प्रधानन्यायाधीशसँग छलफल
काठमाडौं । कानुन व्यवसायीबाट असुरक्षित महसुस गरेको भन्दै ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारी सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र कर्मचारीको विवादका विषयमा उनीहरु प्रधानन्यायाधीशसँग छलफल गर्न सर्वोच्च मंगलबार पुगेका हुन् ।
गत बुधबार कानुन व्यवसायी अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतका कर्मचारी प्रेमिका तामाङबीचको विवाद र हातपातपछि अदालतका कर्मचारी र कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसन दुवैले आन्दोलन तथा विरोध गर्दै आएका छन् ।
उक्त घटनापछि आइतबार देशभरका अदालतका कर्मचारीले आन्दोलन गरे । त्यस्तै, हिजो साेमबार देशभरका कानुन व्यवसायीले इजलास बहिष्कार गर्दै आन्दोलन गरेका थिए ।
साथै, उपत्यकामा रहेका नेपाल बार इकाइका कानुन व्यवसायीले घटनाको विरोध गर्दै मंगलबार ललितपुर जिल्ला अदालत अगाडि नै प्रदर्शन गरेका थिए ।
मंगलबारको विरोधसभापछि जिल्ला अदालतका कर्मचारीले असुरक्षित महसुस गरेको भन्दै सर्वोच्च अदालतसँग विवादको टुंगो लगाउन माग गरेका छन् ।
न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ ।