सुनको सिक्री लुटपाट गर्ने ४ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन विक्री गर्न सहयोग गर्ने राहुल माझी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख एसएसपी डा.मनोज केसीले बताए । उनका अनुसार यो गिरोहले पछिल्लो एक महिनामा ८ वटा चेन लुटपाटको घटना गराएको थियो ।

‘प्रहरीले असार १ गतेबाट सर्वसाधारणको चेन तानेर भाग्ने गिरोहको खोजी गरिरहेका थियौं, २० असारमा टोखा पेट्रोल पम्प नजिक भएको रीता श्रेष्ठको सिक्री लुटिएको घटनामा स्पष्ट देखिने खाल्को फुटेज हात परेपछि अनुसन्धानले गति लिड लिएको थियो’, एसएसपी केसीले भने, ‘त्यसक्रममा लुटपाट गर्दा मोटरसाइकल चलाउने रवि विक र पछाडि बसेर लुट्ने रविन दमाईसहित ४ जना पक्राउ परेका छन् ।’

लुटपाटका लागि उमेश क्षेत्रीले व्यवस्थापन मिलाउने गरेका थिए । उनी पहिले पनि मोटरसाइकल चोरीमा पक्राउ परेर धरौटीमा छुटेको व्यक्ति हुन् । प्रहरीका अनुसार, चेन लुटपाटको घटनामा पहिले मोटरसाइकल कुदिरहेका बेला घाँटीबाट चेन तान्ने गरेको देखिन्थ्यो । यो घटनामा भने मोटरसाइकलबाट ओर्लिएर चेन तानेर भाग्ने गरेको देखिएको छ ।

प्रहरीले बिक्री गरिएको केही सुन पनि बरामद गरेको छ । साथै थप अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *