सेनाको कम्पाउन्डभित्रको सडक २० वर्षपछि खुल्यो, बालेनले गरे निरीक्षण
काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मूल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।
अहिले सडक खुलेपछि स्थानीय खुसी भएका छन् । ‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले फिल्ड निरीक्षण गरे। नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्न प्रधान सेनापतिसँग भेटेर समाधानका लागि बालेनले छलफल गरेका थिए । यसपछि सडक खोल्ने वातावरण तयार भयो । ‘अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले भने ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवान पाउ वनस्थली सडक, उत्तरमा वालाजु— वनस्थली चक्रपथ ९ट्र्याक रोड० र दक्षिणमा स्वयम्भू— भगवान पाउ— विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।
२०६० वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । यसपछि सहरीकरणबाट विकास व्यवस्थापन र सुबिधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो ।
आयोजना सुरु हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२ प्रतिशत भाग ओगटेको थियो । सडकले ४.६५ प्रतिशत, कुलोले १.१५ प्रतिशत, पर्ती जग्गाले ०.३१ प्रतिशत र भचाखुशी नदी १.४७ प्रतिशत क्षेत्र ओगटेको थियो । एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो । जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्क वापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ ।