सेनाको संख्या घटाउने एमालेको एजेन्डामा बोलेपछि स्वर्णिमले दिए प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यतिकै एमालेको स्याटालाइट पार्टी भनिएको होइन । एमालेले जे जे मुद्दा वा एजेन्डा उठाउँछ, रास्वपाका सांसदहरूले संसदमा त्यही त्यही विषय बोलेका छन् ।

पछिल्लो समय सेनाको संख्याको विषयले रास्वपाका सांसद स्वर्णिम वाग्ले विवादमा तानिएका छन् । प्रतिनिधिसभा बैठकमा उनले नेपाली सेनाको संख्या घटाएर देशमा बढिरहेको खर्च घटाउन सकिन्छ भनेर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति आएलगत्तै उनको चौतर्फी आलोचना हुन थाल्यो । नेपाली सेनाले पनि उनलाई रेड नोटिसमा राख्यो ।

नचाहिने विषयमा हात हाल्न पुग्दा उनले प्रस्टीकरण दिनुपरेको छ । प्रस्टीकरण दिँदा पनि उनले प्रधानसेनापति प्रभुराम शर्मालाई विवादमा तानेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले सुरक्षा निकायको सहमतिमै संख्या घटाउन वा बढाउन सकिने बताएका छन् । उनले यसबारेमा प्रधानसेनापतिलाई भेटेर कुरा गरेको दाबी गरेका छन् । जबकि प्रधानसेनापति शर्माले सेनाको संख्या घटाउने विषयमा संसदमा बोलिदिन वाग्लेलाई आग्रह गरे होलान् भन्ने कसैले विश्वास गर्दैनन् ।

चौतर्फी आलोचना भएपछि वाग्लेले लेखेका छन्, ‘सेनाबारे गरिएको कुप्रचार र भ्रममा नपर्नु होला । नेपाली सेनाको गौरवशाली इतिहास छ। यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ। जिम्मेवार सांसदका रुपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्यूसँग नै भेटेर छलफल गरें। अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझें र उहाँको यो कुरा मैले संसदमै राखें। अबको बाटो भनेको एकीकृत सुधारको योजना तीनवटै सुरक्षा निकाय आँफैले पेश गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस्।

जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छस् आवश्यक भए संख्या बढाउने, आधुनिकीकरण मार्फत कुल संख्या घटाउने, वा यथावत् राख्ने। बोझिलो बन्दै गएको संघीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ। वित्त र सुरक्षा नीति दुबैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो। हामी चौबाटोमा प्रोपगाण्डा गर्दै हिंड्नेहरुको हल्लाका पछाडि दौडने होइन, बहालवाला सर्वोच्च अथोरिटी (प्रधान सेनापति) ज्यूसँगै छलफल गरेर जिम्मेवार कुरा गर्छौं। भ्रम फिजाउँदै राष्ट्रिय सेनालाई विवादमा तान्नेहरुको खराब नियतबाट सावधान रहनुहोला।’

सेनाको संख्या घटाउने विषय पहिले एमालेकी सांसद विमला पौडेल राईले राष्ट्रिय सभामा उठाएकी थिइन् । पौडेल केपी ओली पूर्वपरराष्ट्रमन्त्रीसमेत हुन् । उनैले उठाएको एजेन्डा वाग्लेले प्रतिनिधिसभामा बोल्दा विवादको घेरामा परेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *