कांग्रेस केन्द्रीय समिति बैठक लाइभ हुने कि नहुने अझै लागेन टुंगो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । ११ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकलाई लिएर सबैतिर चासो देखिएको छ । पार्टी विधानमा प्रत्येक दुई महिनामा एकचोटि केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ । लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठक एक सातासम्म चल्ने नेताहरूको भनाइ छ ।

बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समिति प्रतिवेदन पेस, संसदीय दल समीक्षा र केन्द्रदेखि प्रदेशसम्मका सरकारको समीक्षालगायत १० एजेन्डा छन् ।

कांग्रेसले पहिलोपल्ट केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका हुन् । अहिलेसम्म कुनै पनि दलले केन्द्रीय समिति बैठक लाइभ गरेका छैनन् । देउवाको यो प्रस्तावलाई धेरैले परिवर्तनको संकेत भनेका छन् । तर, पार्टीमा संस्थापन इतर समूहका केही युवा नेताले लाइभ गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । त्यही भएर लाइभ हुने कि नहुने अझै टुंगो लागेको छैन ।

सोमबार पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको छलफलका क्रममा सभापति देउवाले बैठक प्रत्यक्ष प्रसारणको प्रस्ताव गरेका थिए । पूर्वमहामन्त्री डा. शशांक कोइरालाका अनुसार बैठकको सुरुमै यसबारे छलफल भएको थियो । तर, यसबारे फरकफरक धारणा रहेको उनले बताएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठक प्रत्यक्ष गर्ने–नगर्नेबारे मंगलबार नै टुंगो लाग्नेछ । ‘पार्टीको छलफल बन्द रूपमा हुने र छलफलका लागि सहज हुने परम्परा छ । तर, कांग्रेसले प्रविधिलाई प्रयोग किन नगर्ने भन्ने विषयमा छलफल भयो । हुन पनि सक्छ, नहुन पनि सक्छ । मंगलबार नै टुंगो लाग्छ,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *