सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना


काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । बुधबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए । ‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनीसकेको छ ।

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं । मरासिनिले भने, कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसंग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरु गरेका हौं ।

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म दुई हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ । मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *