कांग्रेस नेता जितजंग बस्नेतले भने– सुनकाण्डमा गृहमन्त्रीको नाम जोडियो, अब भेट्न जाने कि नजाने ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीभित्रै कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले कांग्रेसका नेतामा अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए ।

बस्नेतले अरूको नाम आउँदा चुप लागेर बस्ने, तर आफ्नो पार्टीका नेताको नाम आउँदा राजीनामा माग्ने धारणा गलत भएको बताए । सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै उनले कांग्रेसका केही नेता भने आफ्नै पार्टीलाई खुइल्याउन हिँडेको आरोप लगाए ।

‘‘सुनकाण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो । केपी ओलीको पनि नाम आएको छ । यो विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ? हाम्रो साथीहरूको नाम आए चर्को चर्को कुरा गर्नुहुन्छ । जाऊ न त नारायणकाजीको नाम आइसकेको छ । अब उहाँको विषयमा राजीनामा माग्न जाऔं । को को मान्छे सुन तस्करीमा परेका छन् । यो सुनको विषयमा छानबिन हुने कि नहुने ? साथीहरू गृहमन्त्रीकोमा जाने कि नजाने ?’ उनले प्रश्न गरे ।

उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नुपर्ने र जनताको हकअधिकारको लागि लड्नुपर्ने धारणा राखे । नेता ,सांसद र मन्त्री जोकोही पनि बन्न सक्ने, तर राजनेता हुन सक्नुपर्ने बस्नेतको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *