इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने
आइतबार साँझ प्रधानमन्त्रीले युरोपमा रहेका पार्टी निकट कार्यकर्ताहरुसँग अन्तर्क्रिया गर्ने नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले जानकारी दिए । उनक अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ नेपाली जनप्रगतिशील मञ्च युरोपसँग आवद्व संगठनसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले मंगलबार साँझ प्रधानमन्त्रीको स्वागतमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एनआरएनए इटालीका अध्यक्ष छविलाल कँडेलले मंगलबार बेलुकी ६ बजेदेखि १० बजेसम्म स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए । ‘नेपालले खाडी मुलुकहरूसँग श्रम सम्झौतामा जोड दिँदै आएको छ । अब नेपालले युरोपेली देशहरूमा पनि आवश्यक प्रक्रिया एवं पहलकदमी थाल्नुपर्छ । इटालीमा पनि त्यो सम्भावना देखिन्छ’, एनआरएनए अध्यक्ष कंडेलले भने, साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहालसहितको टोली आइतबार बिहान इटालीको रोम आइपुगेको छ ।