बीजेपीसँग भाइचारा सम्बन्ध बढाउँदै माओवादी, पम्फाको नेतृत्वमा नेताहरू दिल्ली जाँदै
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग निकट सम्बन्ध रहेको माओवादी दक्षिणतिर ढल्केको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणपछि माओवादीले भारतीय संस्थापन पक्षसँग सम्बन्ध विस्तार गर्ने भएको हो ।
भारतीय जनता पार्टी (बिजेपी) सँग भाइचारा सम्बन्ध अघि बढाउने माओवादीको तयारी छ । त्यसकै लागि माओवादी उपमहासचिव पम्फा भुसालको नेतृत्वमा एक टोली भारत जान लागेका छन् । भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली ६ दिने भारत भ्रमणमा आइतबार त्यसतर्फ जान लागेका छन् ।
टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् । बिजेपीले संसारभरिका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने योजनाअन्तर्गत माओवादीलाई औपचारिक रूपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिने बताइएको छ ।