बैठक फेसबुक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रीय कमिटी बैठक फेसबुक लाइभ गर्ने निर्णयबाट पछि हटेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो । अहिले स्थायी कमिटीको बैठक बसिरहेको छ ।
माओवादी पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो। तर बैठक लाइभका विषयमा पदाधिकारी विभाजित भएपछि अध्यक्ष प्रचण्ड आफ्नो निर्णयबाट ब्याक भएका हुन् ।
पछिल्लो समयमा सुन प्रकरणमा माओवादीका उच्च तहका नेताहरुनै संलग्न भएको र बैठक लाइभ गर्दा छलफलका आन्तरिक विषय बाहिर सार्वजनिक हुने डरले माओवादी पछि हटेको बताइन्छ ।
बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँच पाँच मिनेटको समय दिइने निर्णय गरिएको छ। माओवादी युवा नेता रामप्रसाद सापकोटाले बैठक लाइभ गर्न नहुने फेसबुकमै लेखेका थिए ।