अर्थमन्त्री महतविरुद्ध संसदमा बोलेका सुनिल शर्मा ओशो तपोवनमा ध्यान गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं मेडिकल सञ्चालक डा. सुनिल शर्मा विपश्यनाका लागि ओशो तपोवन पुगेका छन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेर चर्चामा आएका शर्मा केही दिनदेखि रानीवनस्थित ओशो तपोवनमा ध्यान गर्दै गरेको अवस्थामा भेटिएका हुन् ।

सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको समेत नाम जोडिएपछि सम्पर्कविहीन बनेका शर्मा कांग्रेसका अर्का नेता सुवास पोखरेलसहित तपोवनमा ध्यानमा बसेका छन् । उनी केही दिनसम्म त्यही विपश्यनामा बस्ने बुझिएको छ ।

दुवै मन्त्रीले राजीनामा नदिए कपन बाँधेर संसद् प्रवेश गर्ने र अनशन बस्ने चेतावनी दिएका शर्मा आफ्ना साथी माओवादी नेता वर्षमान पुनको नाम पनि सुन प्रकरणमा मुछिएपछि वैराग्य लागेर रानीवनतिर लागेको बताइन्छ ।

पुन र शर्माबीच सम्बन्ध राम्रो छ । पुनको नाम पनि जोडिएपछि शर्मा अनशन बस्ने कुरा सेलाएको छ । विराटनगरमा नोबेल मेडिकल कलेज र सिनामंगलमा केएमसी अस्पताल चलाउँदै आएका शर्मा स्वास्थ्य बिमाको रकम सरकारले नदिएपछि अर्थमन्त्री महतसँग आगो भएका छन् ।

उनको केएमसी अस्पतालले त्यहाँ कार्यरत नर्स र कर्मचारीलाई चार महिनादेखि तलब दिन सकेको छैन । अहिले कर्मचारीले आन्दोलन थालेका छन् ।

स्वास्थ्य बिमाको रकम दिन अर्थ मन्त्रालय रोकेपछि रिसाएका शर्माको शैक्षिक प्रमाणपत्रको छानबिन हुन थालेको छ । उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *