डेंगु महामारीको अन्त्यका लागि कांग्रेसद्धारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको महामारी अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत लामो समयदेखी पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान जानुका साथै रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त विरामी पर्न थालेपछि उक्त महामारी अन्त्यका लागि सरकारलाई कांग्रेसले ध्यानाकर्षण गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पछिल्लो समय डेंगु रोग फैलिने क्रम बढ्दै गएपछि समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकार प्रतिवद्ध हुनुपर्ने जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै नेपाली कांग्रेसले सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल गर्दै रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न नेपाली कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यहरुलाई आह्वान गरेको छ ।

महामारीबाट प्रभावितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेसले महामारीबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *