राष्ट्रिय सहकारी बैंक २१ वर्षमा,सेवाको गुणस्तरमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता


काठमाडौं । राष्ट्रिय सहकारी बैंक स्थापनाको २१ औं वर्ष प्रवेशमा गरेको छ । सहकारी संघ,संस्थाहरूको प्रवद्र्धन, विकास एवं वित्तीय आवश्यकतालाई पुरा गरी सहकारी क्षेत्रलाई सहयोग पुर्याउने उद्देश्यले २०६० आषाढ २५ गते राष्ट्रिय सहकारी बैंकको दर्ता भएको थियो । बैंकले आफ्ना सदस्य सहकारी संघ,संस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोबार गर्दै आएको छ । बैंकलाई २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त भएको थियो । २०६१ सालमा सरकारबाट एक करोड रुपैंयाँ र सहकारी संस्थाहरुबाट सेयरबापत उठाइएको एक करोड गरी दुई करोडबाट सुरु भएको बैंक यतिबेला अर्बको कारोबार गरिरहेको छ । २० वर्षको अवधिमा बैंकले सेवा विस्तार र कारोबारलाई थप आक्रमक बनाउँदै लगेको छ । पछिल्लो तथ्यांक अनुसार बैंकको कुल सम्पत्ति ६५ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ । २०८० असार मसान्तसम्म सहकारी बैंकमा कुल सेयर सदस्यहरुको संख्या १६ हजार ६० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ४ सय ७४ रहेको छ । जबकी बैंक स्थापना हुँदा शुरुवातीमा पाँचसय मात्र सदस्य थिए ।

बैंकले ६८ शाखा र केन्द्रीय कार्यालय गरि ६९ कार्यालयबाट सदस्य सहकारी संघ , संस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम शिक्षा, सहकारी अभियानको संरक्षण र सम्वर्द्धनको लागि पहलकदमी जस्ता विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । प्राप्त विवरण अनुसार हाल बैंकको सेयर पुँजी दुई अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ५८ अर्ब २४ करोड ५९ लाख, ऋण लगानी ३२ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैंयाँ, विभिन्न कोषमा ५० करोड ४४ लाख रुपैंयाँ रहेको छ ।

बैंकको तरलता रकम २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट तोकिएका जोखिम व्यवस्थापनका मापदण्डहरु, पूँजी पर्याप्तताको पालना, अनिवार्य नगदको पूर्णता, कर्जा जोखिम कोषमा यथेष्ट प्रबन्ध, एकल कर्जा लगानी तथा कर्जा सदुपयोगितालाई विशेष ध्यान दिँदै सञ्चालन गरिरहेको जनाएको छ। समग्र सहकारीको वित्तीय जोखिम व्यवस्थापन गर्न अनुकरणीय मापदण्डहरु बिकास र विस्तार गरि सेवा उपलब्ध गराउन प्रयत्नशिल रहेको समेत बैंकले जनाएको छ। बैंकले सदस्यलाई प्रदान गर्ने सेवाको गुणस्तरमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *