शीर्ष नेताको बैठक फेरि पनि निष्कर्षविहीन , अर्काे बैठक मंगलबार बिहान १० बजे
काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन भएको छ ।
दिउँसो चार बजे सभामुखको कार्यकक्ष संसद् भवन बानेश्वरमा बसेको बैठक निष्कर्षविहीन सकिएको हो । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी सकिएको छ । यसअघि आजै दिउसो १२ बजे सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः बैठक बसेको थियो ।
यता, प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसद्को अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । संघीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।
एमालेले सरकारी अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।