प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष : एमालेले कुनै शर्त गर्दैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन् ।

बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्त नराख्ने बताएका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तनका लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गरेका थिए ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्त बन्दी नगर्ने उनको भनाइ थियो । उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा दृढतापूर्वक उभिने बताए ।

उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आईएलओ महासन्धि पनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको दाबी गरे । आफूहरूकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट भएको उनको भनाइ थियो ।

‘यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा एमाले जहिले दृढतापूर्वक उभिएको छ, आउने दिनमा पनि दृढतापूर्वक उभिन्छ,’ उनले भने, ‘धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो ? आईएलओ महासन्धि कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्‍यो ? आदिवासी जनजाति सम्बन्धी घोषणा पत्रमा कसको भूमिका छ ? हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भयो, अब हामीले अरु धेरै भनिरहनु पर्छ र ?’

उनले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरूले मनाउने चाडपर्वलाई राष्ट्रिय चाडपर्वको रुपमा मनाउनु पर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *