विद्युत प्राधिकरणलाई एक वर्षमा साढे १२ अर्ब नाफा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा करिब साढे १२ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
आर्थिक वर्ष ०७९–८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको उनको भनाइ छ ।
आव ०७७–७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रुपैयाँ थियो । आव ०७८–७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो । यस वर्ष नाफामा एक अर्ब घाटा लागेको छ ।
गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले बताए ।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब एक खर्ब १८ अर्ब पुगेको घिसिङको भनाइ छ ।
प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताए ।