कांग्रेसका मन्त्रीहरुसँग उपप्रधानमन्त्री खड्काद्धारा छलफल
काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् ।मंगलबार सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् ।
क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको बैठकमा केही नेताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
संसदीय दलको बैठकमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेको समेत बताए ।