१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिनलाई सीधै अदालत लगियो

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन् । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टाअगाडि उनी स्वदेश फर्किएका हुन् ।

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो ।

उनलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उनीविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् ।

दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समयअनुसार मंगलबार बिहान राजधानी ब्याङ्ककमा अवतरण गरेका उनको सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए ।

नेता सिनावात्राको दलको गढ मानिएको उत्तर पूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए ।

आफ्ना दुई छोरी र छोराको साथमा उनी विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्किएका थिए । यस क्रममा उनले राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे ।

उनलाई मंगलबार नै सर्वोच्च अदालत लगिएको थियो । उनलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ । उनको पार्टी फेउ थाई गठबन्धन सरकारमा मंगलबार सहभागी हुने अपेक्षा गरिएको छ ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ । एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *