महिला खेलाडी किस प्रकरण: फिफाले अनुशासनको कारवाही अगाडी बढायो

काठमाडौं । फुटबलको सर्वोच्च संस्था फिफाले स्पेनकी विश्वकप च्याम्पियन फुटबलर जेनिफर हर्मोसोलाई सहमति बिना ओठमा चुम्बन गरेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसविरुद्ध छानबिन गर्ने भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार फिफाको अनुशासन समितिले अध्यक्ष लुइसविरुद्ध छानबिन हुने जानकारी दिएको हो ।

फिफाले एक विज्ञप्तिमा भनेको छ- ‘फिफाको अनुशासन समितिले स्पेनिस फेडेरेसनका अध्यक्ष लुइस रुबियालेसलाई विश्वकप फाइनलपछिको घटनाको आधारमा अनुशासनको कारवाहीको प्रक्रिया शुरु गरेको जानकारी गराइएको छ । घटनाले फिफाको विधानको आर्टिकल १३ को १ र २ धाराको अनुशासन सम्बन्धि विषय आकर्षित भएको छ ।’
यस धारामा खेलाडी, अफिसियलको अनुशासनसम्बन्धि व्यबहार आकर्षित हुने उल्लेख छ ।

आइतबार सम्पन्न फिफा महिला विश्वकपको फाइनमा स्पेनले इंग्ल्यान्डलाई १–० पराजित गरेपछि आयोजित अवार्ड समारोहमा स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसले हर्मोसोको ओठमा चुम्बन गरेको विषय अहिले विवादमा रहेको छ ।

विश्वकप जितेपछि हर्मोसोलाई फेडेरेसन प्रमुख लुइसले ओठमा किस गरेको तस्बीर भाइरल भएको थियो । साथै लुइसले अर्की खेलाडी अथेनी डेल कास्टिलोलाई काधमा बोकेर हिडेको तस्बीर समेत अहिले भाइरल भएको छ ।

हर्मोसोले एक विज्ञप्ति जारी गर्दै रुबियालेसलाई कारबाहीको माग गरेकी थिइन् । महासंघकै प्रमुखबाट महिलाको मर्यादा हनन भएको भन्दै उनले आफ्नो तर्फबाट खेलाडी एसोसियसनले यो विषय हेर्ने बताएकी छन् ।

उक्त घटनाले विश्वभर विवाद उत्पन्न भएपछि महासंघले शुक्रबार आपतकालीन बैठक बोलाएको छ भने अध्यक्ष लुइसलाई कारवाही गर्ने दबाब बढिरहेको छ । स्पेनिस फुटबल महासंघले भएन यो घटनाको आन्तरिक छानबिन गरिरहेको बताएको छ । स्पेनका विभिन्न खेलकुद क्लबहरुले पनि रुबियालेसको राजीनामा माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *