नागरिकता बनाउने घट्यो, राहदानी बनाउने अधिक
बैतडी । जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ । यसैबीच राहदानी बनाउनेको संख्या बढेको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७९/८० मा छ हजार ३३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश पन्थीले जानकारी दिए ।
यसमा तीन हजार ३९६ पुरुष र दुई हजार ९४२ महिलाले नागरिकता बनाएका हुन् । जसमध्ये १२ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन् । यस्तै, पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
आव ०७८/७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
यस्तै, २० जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन् । चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
यसैबीच यहाँबाट राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । गत वर्ष ०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ६८० जनालाई राहदानी वितरण गरिएको छ ।
जसमा दुई हजार ४९६ पुरुष र १८४ महिला रहेका छन् । यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।
यस्तै आव २०७८र७९ मा ६२२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा ५३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ ।