‘दाइले भाउजूलाई टिकट दिने परिपाटी बदल्नुपर्छ’ : महामन्त्री थापा
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने दावी गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले ८ लाख सदस्य भएका कांग्रेस अहिले शिथिल बनेको बताउँदै भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ । तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भनेचाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । महामन्त्री भएकाले अहिले टिकट बाँडेको मैले नजिकबाट हेरेँ । पहिलोपटक म त्यहाँ सम्मिलित भएँ । तपाईंले सबै अधिकार दाइलाई दिनुभयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । त्यसैले १५औँ महाधिवेशनबाट यो परिपाटी बदल्नुपर्छ ।’
अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गर्दै थापाले अब उम्मेदवार स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए ।