प्रचण्डले भने– कहिलेसम्म सरकारको नेतृत्व गर्छु भन्ने थाहा छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कहिलेसम्म सरकारको नेतृत्व गर्छु भन्ने थाहा नभएको बताएका छन्। हेटौंडामा आइतबार समाजवादी मोर्चाको आयोजना गरेको सन्देश सभामा माओवादीका अध्यक्षसमेत रहेका उनले सरकारको नेतृत्वको विषयमा अनविज्ञता प्रकट गरे।

जति दिन सरकारको नेतृत्व गरे पनि सुशासनका काम गर्ने उनले दाबी गरे । ‘मैले कहिलेसम्म नेतृत्व गर्छु भन्ने थाहा छैन, तर यो बीचमा भ्रष्टाचारको उन्मुलनको लागि समाजमा सुशासन कायम राख्न, न्यायपूर्ण समाज निर्माण गर्न प्रतिबद्ध रहनेछु,’ उनले भने ।

प्रचण्डले सामाजिक न्याय, समृद्धि, सुशासनको पक्षमा मोर्चाले नयाँ अभियान शुरू गरेको दाबी पनि गरे । ‘हिजो जनआन्दोलनमार्फत संघीयता, लोकतन्त्र र गणतन्त्रको लागि लडिरहने पार्टीहरूको हाल मोर्चामार्फत नै गणतन्त्र र लोकतन्त्रलाई समाजवादतर्फ उन्मुख गराएर अघि बढाउनुपर्ने देखिन्छ,’ उनले भने । उनले मोर्चाले न्यायपूर्ण समाज निर्माणका लागि अघि बढ्ने बताए।

समाजवादी मोर्चा बनाएर कांग्रेसलाई दबाब दिएका प्रचण्डको कार्यशैलीलाई लिएर सत्तारुढ गठबन्धनमै दरार उत्पन्न भएको छ । मोर्चामा ५४ सांसद रहेको र त्यसबाट सरकारको नेतृत्व गरिरहने उनको दाउ छ । आइतबार नै हेटौंडामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोइरालाले प्रचण्डबाट सरकार नचल्ने भन्दै कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने धारणा राखेका थिए । शनिबार पनि उनले चितवनमा प्रचण्ड अराजक शैलीमा प्रस्तुत भएको आरोप लगाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *