मिलिजुली कालिञ्चोक साकोसको ‘सदस्यसँग मिलिजुली कालिञ्चोक’ कार्यक्रम


मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग मिलिजुली कालिञ्चोक कार्यक्रम सम्पन्न गरेको छ । ‘सहकारीका शेयर सदस्य संस्थाका मालिक र देवता दुवै हुन्’ भन्ने मर्मलाई हृदयङ्गम गर्दै भदौ महिनाको कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा हलको क्षमता अनुसार संस्थाले आमन्त्रण गरेका शेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । संस्थाले यस कार्यक्रमलाई आर्थिक वर्ष आ.व. २०८०।०८१ को वर्किङ्ग क्यालेण्डरमा राखेर सञ्चालनमा ल्याएको हो । हाल मासिक रुपमा गर्ने योजना रहेको यो कार्यक्रम शेयर सदस्यहरुको माग आएमा साप्ताहिकरुपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ । सञ्चालक समिति उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ), सचिव ठाकुर प्रसाद पाठकको उपस्थित रहेको कार्यक्रम सचिवले सञ्चालन गरेका थिए । कार्यक्रममा सहकारी संस्था कसरी सञ्चालन भईरहेको छ, संस्थाको बित्तीय अवस्था कस्तो छ, सहकारी संस्था बलियो हुन शेयर सदस्यहरुको सक्रियता कतिको आवश्यक पर्दछ, संस्थाले हाल सम्म के कस्तो सफलता प्राप्त ग¥यो र संस्था डिजिटलाईजेसनको पाटोमा के कार्य गर्दैछ भन्ने विषयमा सदस्यलाई जानकारी गराईएको थियो ।

यस्तै गुणस्तर सुनिश्चितता कार्यक्रमले संस्था र शेयर सदस्यलाई के कस्तो फाईदा दियो, सहकारी सञ्चालन तथा बचत ऋणका सिद्धान्त, मूल्य र मान्यता बमोजिम सहकारी संस्था चलेको छ वा छैन, भाखा नाघेको ऋण र ऋण सुरक्षण कोषको कसरी ब्यवस्थापन गरिएको छ, बास्तविक शेयर लाभांश कसरी गणना गरिन्छ र साधारण सभामा बितरण गरिएको भत्ताको कर लगायत राज्यलाई तिर्ने करहरु बेलामै नतिर्दा संस्थालाई के घाटा हुन्छ भन्ने विषयमा पनि जानकारी दिईएको थियो । यसैगरी जगेडा कोष के हो र किन महत्व छ, संरक्षित पूँजि फिर्ता कोष के हो र कसरी बितरण गरीन्छ, भावि नेतृत्वको लागि नेतृत्व बिकास तालीम किन आवश्यक छ, शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्ने दश सुत्रहरु के के हुन्, अवका दिनमा शेयर सदस्यहरुसँग कार्यक्रमहरु सहित संस्था कसरी जाँदै छ, समय ब्यवस्थापन कसरी गर्ने, जीवनमा हुने तनाव लाई ‘ए.बि.सि.डि.’ मोडल बाट कसरी समाधान गर्न सकिन्छ भन्ने लगायतका विषयमा सदस्यमाझ प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरुले राखेको जिज्ञासालाई संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृतले सम्बोधन गरेका थिए । सदस्यले दिएको अमूल्य सुझावलाई आगामी सञ्चालक समितिको बैठकमा बुँदागतरुपमा छलफल गरी संस्था र शेयर सदस्य हितका कुराहरुलाई अक्षरस कार्यान्वयनमा लाने संस्थाको योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *