८ बुँदे सहमतिसँगै मिल्यो अखिल क्रान्तिकारी विवाद
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको लामो समयदेखीको विवाद समाधान भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले ८ बुँदे नीतिगत सहमतिसँगै संगठन एकताबद्ध भएको जिकिर गरिन् । सहमतिसँगै संगठनभित्र देखिएको समानान्तर गतिविधि अन्त्य हुने उनले विश्वास लिइन् ।
क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए ।